Logo

प्रवासको माटोमा उदाएका गायक

दस्तावेज संवाददाता,दुवई मे ४ , रोजगारीका सिलसिलामा ८ वर्षअघि घरदेश छाडी परदेशको बाटो तय गरेका झापा चारपानेका बासुदेव बास्कोटाले ६ वर्षे मलेसिया बसाइमा पनि फुर्सद हुनेबित्तिकै गीत गुन्गुनाइरहे । सपना गायक बन्ने जो थियो । तर, सबैका सपना सजिलै पूरा हुँदैनन् । सबै रामकृष्ण ढकालहरुले आफ्नो भाग्य चम्काइदिने, गोरेटो कोरिदिने गोपाल कर्माचार्य पनि पाउँदैनन् । सपनाहरु सजिलै पूरा हुने सौभाग्य सबैले पाउँदैनन् पनि । तर, निराश भएनन् बास्कोटा । काम गरिरहे, दाम कमाइरहे । काम र दामको गोलचक्करमा कतै अल्झिए वा हराए बास्कोटा । कतै छुटे जस्तो भयो संगीतमोह । कामको प्रकृति नै त्यस्तै थियो । तर, आफ्नो मनभित्रको संगीतमोह भने मरेको थिएन । दाम कमाउने र काम पाउने थलो मात्र रहेन परदेश । विभिन्न क्षेत्रमा रुचि भएका नेपालीहरुले काम र दामसँगै नाम पनि कमाइरहेका छन् ।

               नेपाली गीत संगीतको उत्थान तथा विकासका लागि प्रवासमा रहेका नेपालीहरुले पनि ठूलो योगदान दिइरहेका छन् । व्यावसायिक रुपमा सबै सफल नहोलान्, तर, व्यावसायिक बन्ने गोरेटो धेरैले प्रवासबाटै कोरेका छन् । गीतसंगीतको क्षेत्रमा त्यस्तै गोरेटो कोर्ने हजारौमा एक हुन्, बास्कोटा । कर्मले डोहोर्याउँदै दुई वर्षअघि बास्कोटा जसै युएई आइपुगे, उनले अनुकूल सांगीतिक वातावरण पाए । साथीसंगी र जीवनसंगीनीले पनि उनको संगीतमोहमा लाग्न उक्साइरहे । सामाजिक र साँस्कृतिक रुपमा युएईमा क्रियाशील झापाली समाजको आजीवन सदस्य भएपछि उनको संलग्नता साँस्कृतिक विभागमा बड्न थाल्यो । समाजले आयोजना गर्ने विभिन्न अनलाइन प्रतियोगिता तथा सांगीतिक कार्यक्रममा गाउन थालेपछि उनको संगीतमोह युएई आएको वर्ष दिनभित्रैमा बौरियो, मौलायो अनि झाँगियो पनि । उनले साधनामा पनि जोड दिए । अन्ततः साहित्यमा विशेष रुचि भएका बास्कोटाले आफै गीत रचना गरे अनि आफै भरे संगीत । अनि पहिलो छुटीमा वैशाख १२ गते नेपाल गएका बेला काठमाडौंमा गीत रेकर्ड गराउन सफल भए । जूनभन्दा नि राम्री, फूलभन्दा नि सुन्दर को छ होला दुनियाँमा, तिमी नै छौं चञ्चल आफ्नै शब्द, संगीत र स्वरमा सजिएको यो गीतको म्युजिक एरेन्ज राजिब शाहले गरेका हुन् । पुतलीसडकको आफ्नै डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गीतले आफ्नो सांगीतिक यात्राले गति लिने गायकको विश्वास छ ।

                   बाल्यकालमै आफ्नी आमा हरिमाया बास्कोटोको निधन भएपछि बुबा बलराम बास्कोटाबाटै आमाको पनि मायाँ पाएको बताउँछन् गायक । सानैमा आमा गुमाए पनि बुबाले पुनः विवाह नगरेका कारण आफ्ना बुबालाई आदर्श र महान् बुबा मान्छन् गायक । बुबाकै माया र प्रेरणाका कारण संगीतमा लागेको बताउने बासुदेव यो गीत रेकर्ड गर्न आफ्नी जीवनसंगीनीको ठूलो हात रहेका बताउँछन् । मेची बहुमुखी कलेजमा बीबीएस अध्ययन गर्दै कलेजका मञ्चहरुमा गीत गाएको सम्झँदै नोस्टाल्जिक भावमा गीत संगीतमै जीवन समर्पित गर्ने बताउँछन् गायक बास्कोटा । नेपाली सांगीतिक आकाशमा नयाँ सेन्टिमेन्टल गीत थपेका छन् बास्कोटाले युएईको नेपाली समुदायबाट । रोजीरोटीका लागि परदेशमा पुग्नेहरुले पैसा कमाएर परिवारको गर्जोमात्र टारेका छ्र्रैनन्, साहित्य, गीतसंगीत, पत्रकारिता, समाजसेवामा लागेर आफ्ना अधुरा सपनाहरु पूरा गरिरहेका छन् । उक्त गीत सार्वजनिक भएसँगै बास्कोटाको गायक बन्ने सपनाले साकार रुप लिएको छ । नव गायक बास्कोटाको उज्जवल सांगीतिक यात्राको अग्रिम शुभकामना ।

प्रतिक्रिया दिनुहोस्